स्टेडियम ९७४ भत्काउन थालियो, नेपालले केहि नपाउने

एजेन्सी । कतारले विश्वकप आयोजनाका क्रममा राजधानी दोहामै केन्द्रित रहेर आठ अत्याधुनिक प्रविधियुक्त रंगशाला निर्माण गर्दा त्यसमा सबैभन्दा बढी मन पराइएको रंगशाला ‘स्टेडियम ९७४’ नै हो ।कतारले ९७४ सिपिङ कन्टेनर प्रयोग गरी बनाइएको यस रंगशाला नाम नै ‘स्टेडियम ९७४’ राखिएको हो । फेरि कतारको कन्ट्री कोड पनि ९७४ हो । कतारले स्टेडियम ९७४ निर्माण गरी विश्वलाई फरक सन्देश दिएको छ ।
अस्थायी रूपमा रंगशालाको निर्माणमा कंक्रिटबाहेक अन्य सामग्रीबाट पनि बनाउन सकिन्छ भन्ने उदाहरण स्टेडियम ९७४ ले दिएको छ । विश्वकपमा चर्चा बटुलेको स्टेडियम ९७४ अब विश्वले अब देख्न पाउनेछैन । कतारले यो रंगशाला भत्काउने काम सुरु गरेको छ ।
यसको सामाग्री कहाँ लग्ने भन्ने यकिन भइसकेको छैन । नेपालले रंगशालाको सिट लगायत सामाग्री पाउने चर्चा चलेपनि हालसम्म नेपाल सरकार, एन्फा लगायत कुनै निकायबाट प्रयास नै भएको छैन । यता उरुग्वेले भने सन् २०३० मा आफ्नो विश्वकप आयोजना गर्ने लक्ष्यका लागि रंगशाला निर्माणमा यहाँको सामाग्री प्रयोग गर्ने चर्चा छ । यसबाहेक रंगशालाको सिट अन्य हल निर्माणको लागि प्रयोग गर्ने सम्भावना पनि छ ।
कतारले स्टेडियम ९७४ अस्थायी रंगशाला भएको र प्रतियोगितापछि भत्काउने घोषणा गरेको थियो । यस रंगशालामा पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो । यस रंगशालमा समूह चरणदेखि सात खेलहरू आयोजना भयो ।
अन्तिम खेलमा ब्राजिल र दक्षिण कोरियाले प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गरे । यहाँ पोर्चुगल र घाना, फ्रान्स र डेनमार्क, ब्राजिल र स्वीट्जरल्याण्ड, पोल्याण्ड र अर्जेन्टिना तथा सर्विया र स्वीट्जरल्यान्डका खेलहरु पनि भएका थिए ।