खर्क चहार्दै भेडीगोठ

जानकारी मिडिया
१९ पुष २०७९, मंगलवार १७:०५

ताप्लेजुङ । गत वर्ष माघ अन्तिम साता फावाखोला छाडेका गोपाल विष्टको भेडीगोठ अहिले फेरि लालीखर्कमा आइपुगेको छ । फुङलिङ नगरपालिका–११ स्थित फावाखोलामा चाररपाँच वर्षयता हिउँ परेको छैन ।
हिउँ परिहाले फावाखोलाको खर्कमा झार्न समय नलाग्ने भएकाले उनले यही ठाउँलाई रोजेका हुन् । तापक्रम बढे २७ सय मिटर उचाइको काफ्ले पाटीछेउमा उकाल्न पनि सजिलो छ । घर पनि नजिकै भएकाले अबको एक महिना यही आसपासको क्षेत्रमा गोठ घुमाउने उनको योजना छ ।
सिदिङ्वा गाउँपालिका–२ का टोपबहादुर बुढाथोकीले सादेवाको बस्तीमा गोठ झारेका छन् । सिदिङ्वाका अध्यक्षसमेत रहेका मानबहादुर राईको टार बारीमा चराइरहेका छन् । दिनभरि पारिपट्टिको जंगल र बेलुका बारीमा ल्याएर राख्ने उनीहरू यो सिजनमा छिमेकी पाँचथरको च्याङथापुसम्म चराउँछन् । दिनभरि कावेली नदीको किनारमा चराउने र बेलुका बारीमा राखेर मल गर्ने उनीहरूको दिनचर्या छ । ताप्लेजुङको कालीखोला, आङखोप पाँचथरको च्याङथापु, फलैंचा क्षेत्रमा डुलाउने गोठ लेकमा पर्ने हिउँ छल्नकै लागि औल झारेका हुन् ।
गोपाल र टोपबहादुर दुवैसँग ३ सयदेखि ४ सयसम्म भेडा छन् । यो बेला पाठा बिक्री गर्दै हिँड्ने भएकाले संख्या क्रमशः घट्दै जाने गरेको छ । लेकमा सिद्धि र औलमा खोलानदी किनारसम्म पुर्‍याउने गोठ हेर्न सजिलोका लागि औलमा संयुक्त बनाउने गरेका छन् । दुईरतीनवटा गोठ मिलाएर एउटै बनाउने र बस्तीका खाली जग्गामा चराउने गोपाल बताउँछन् । मकै छर्नुअघि आफ्नो बारीमा मल बनाउनका लागि गाउँलेले भेडा राख्ने जग्गा दिने गरेका छन् । भेडाको मल राम्रो हुने र अन्न उत्पादनमा सहयोग पुग्ने भएकाले यो विधि अपनाइएको किसानहरू बताउँछन् ।
पछिल्ला वर्ष चौंरी औलतिर झार्ने क्रम भने घट्दै गएको छ । भेडा भने बर्खामा हिमाली भेग र हिउँदमा औलसम्म पुर्‍याएर पालिन्छ । भेंडालाई दिनभर खाइरहनुपर्छ । ‘घरमा चारवटा मात्र भेडा पाले पनि एक जनाको काम दिनभर घाँस काट्ने मात्रै हुन्छ,’ फावाखोलाका हर्कराव विष्टले भने, ‘त्यही भएर पनि गोठ सार्दै चराउन लग्नैपर्छ ।’ विशेष गरी गुरुङ समुदायलाई विवाह, न्वारान, दसैं, तिहार जस्ता पर्वमा भेडा अनिवार्य चाहिने भएकाले एकाध घरमै राखेर पाल्ने गर्छन् । भेडा डुलाउनेका आ–आफ्नै खर्क हुन्छ । ‘पूर्वकाले पूर्वैतिर डुलाउँछन्, उत्तरकाले उत्तरतिरै,’ लिंखिमका दिलीप पतंवाले भने, ‘ताप्लेजुङका सिदिङ्वा र सिरिजंगा गाउँपालिका, उत्तरमा फावाखोला, फुरुम्बु र फक्ताङलुङमा लिएर हिँड्ने गरेका छन् ।’ मिक्वाखोला–४ साँवा र ५ पापुङमा पनि गोठ डुलाउने चलन छ ।

सामान्यतया भेडा ५५ सय मिटर उचाइसम्म चरनका लागि लगिने गोपाल बताउँछन् । चैत–वैशाखदेखि भदौसम्म यो क्षेत्रमा भेडा चर्छन् । असोजदेखि चिसो सुरु हुन्छ । त्यसपछि भेडा आफैं ओरालो झर्न थाल्छन् । तापक्रमको मेसो आफैं पाउने भेडाहरूले त्यहीअनुरूप आफैंले चरन क्षेत्र छोड्न थाल्ने गोपालको अनुभव छ । ‘चिसोयाम सुरु भएपछि कराएर ओरालो लाग्छन् र गर्मी सुरु भएपछि उकालो चढ्न थाल्छन्,’ उनले थपे, ‘त्यस्तो बेला भेंडालाई रोक्नतर्फ लाग्नु हुँदैन । गोठ भत्काएर आफू पनि पछिपछि लाग्नैपर्छ ।’ तापक्रमको कारण कराएर हिँड्न थालेपछि कसै गरे पनि रोक्न नसकिने उनको अनुभव छ ।
असोजदेखि औल झर्न थालेका भेडा मंसिर अन्तिम र पुसको सुरुबाटै तमोर गढतिर पुर्‍याउनुपर्छ । दुई महिना यही आसपासमा बिताइन्छ । सामान्यतया मध्यपहाडी क्षेत्रको हावापानी रुचाउने भेडाले गर्मी बढेपछि औलमा र चिसो बढे पछि लेकमा बस्न नमान्ने पतंवा बताउँछन् । पशु ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा १२ देखि १५ सयको हाराहारीमा भेडा पालिएका छन् । पछिल्लो समय संख्या घट्दै गएको देखिन्छ ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published.


*